Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

टेलिभिजन प्रत्यक्ष प्रसारणको फाइदा बेफाइदा दुबै छन्। यतिखेर गैर आवासीय नेपाली संघको काठमाडौंमा भइरहेको पाँचौँ अन्तर्राष्ट्रिय सम्मेलनको प्रत्यक्ष प्रसारण नेपालका केही फुर्सदिला टेलिभिजन च्यानलहरुले गरिरहेका छन्। विदेशमा यस्तो हुन्छ उस्तो हुन्छ, विदेशका मान्छे यस्ता राम्रा/सभ्य हुन्छन् भन्ने बानी परेको मध्यमवर्गीय नेपालीलाई लामो समय विदेशमा बिताएका गैरआवासीय नेपाली अगुवाहरुका गतिविधिलाई नियाल्ने मौका टेलिभिजनको प्रत्यक्ष प्रसारणले दिइरहेको छ। सँधै सँधै पट्यारलाग्दो सभासद र नेताहरुको चर्काचर्की, भनाभन आरोप-प्रत्यारोप र एकाध अवस्थामा हात हालाहालको मनोरन्जन लिइरहेको नेपाली दर्शकहरुले बिहीबार नयाँ स्वाद फेरे। दृश्य उही चर्काचर्की, भनाभन, आपसी आरोप-प्रत्यारोप र झण्डै हात हालाहालको अवस्था तर फरक पात्रहरुको साथमा। गैर आवासीय नेपाली संघका वर्तमान अध्यक्षका दावेदार र उनीहरुका समर्थकहरु एक आपसमा आरोप प्रत्यारोप र गालीको स्तरमा ओर्लिए र झण्डै हात हालाहाल र झडपको अवस्था आएपछि पूर्व निर्धारित पत्रकार सम्मेलन नै रोक्नुपर्‍यो। विदेशमा बसेर सभ्यता सिकेका भनिएका सुटेडबुटेड नेपाली अगुवाहरुको यो चाला देखेर टेलिभिजन हेरिरहेका नेपाली दर्शकहरुले भने होलान्- ‘बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रोमा राखे बरु ढुंग्रो बांगिएला, पूच्छर बांगाको बांगै !’

अघिल्लो मेरो ब्लग ‘गैर आवासीयले सँधै माग्ने कि अब दिने?’ भन्ने शीर्षक मेरो आफ्नो थिएन, वास्तवमा गत वर्ष मे २०१० मा अमेरिकाको टेक्सासमा भएको संघको चौथो क्षेत्रीय सम्मेलनमा डा. उपेन्द्र महतो बोलेको कुरालाई मैले लेख शीर्षक बनाएको थिएँ। सम्मेलनमा उपेन्द्र महत्तोले भनेका थिए ‘हामीले सधैं कति दोहोरो नागरिकता दोहोरो नागरिकता भनेर मागिरहने अब यो छोडौं। हामीले नेपालमा केहि गरेर देखाऔं सरकार आफै हामीलाई दोहोरो नागरिकता दिन वाध्य हुन्छ, त्यस्तो वाध्य पार्ने काम गरौं।’ जलविद्युत, दुरसंचार, बैंकमा लगानी गरेर मात्रै होइन थुप्रै लोककल्याणकारी कामहरु गरेर धनको साथै ठुलो मन पनि देखाएका उपेन्द्र महत्तोले त्यहाँ सहभागीहरुलाई ‘नेपालमा केहि गरौं यो हरियो पासपोर्टलाई लिंदा गर्व गर्नसक्ने देश नेपाललाई बनाऔं’ भनेका थिए। उनले हाम्रो भनाई र गराई मिलेन भनेर सहभागीलाई झक्भकाएका पनि थिए। सम्मेलन सकियो घोषणपत्र जारी भयो उनी आफ्नै व्यवसायीक व्यस्ततामा लागे होलान्। कस्ले के भन्यो, कस्ले के गर्यो भन्ने हेक्का राख्ने फुर्सद अर्को सम्मेलन मुखमा नआउँदासम्म भएन। मेरो लेखको आशय शब्द केहि कडा भएपनि उनीहरुले गरेका वाचाहरु संझाउने थियो र लेखको निष्र्कष थियो — अब गफ मात्रै होइन काम गरेर देखाउ। त्यसो त यसपटक सबै पत्रिका अनलाइनहरुमा ‘अब गफ होइन काम’ भनेर छापेका छन्। उद्योग बाणिज्य संघका सुरज वैद्यले सम्मेलनको पुवार्धमा मुखै खोलेर भने ‘लगानी गछौं भनेर मात्रै भएन कुन कुन क्षेत्रमा लगानी गर्ने हो स्पष्ट पार्न पर्यो।’

मैले अघिल्लो लेखको निष्कर्ष कुनै आवेग वा पूर्वाग्रह राखेर निकालेको होइन त्यसका केही तथ्य कारणहरु छन्। छ बर्षको विदेश बसाई, यहाँको संघसंस्थाको ससानो अनुभव, पत्रकारितासँगको मितेरी, केही एनआरएन अगुवासँगको चिनजान, नेपाल जाँदा खुल्ला विश्वविद्यालय सम्बन्धी कामको जानकारी, नेपालीजनको एनआरएनप्रतिको आशा र पत्रिकामा आएका एनआरएन गतिविधी सबैलाई संश्लेषण गरेर उक्त निष्कर्ष निकालेको हुँ।

वाचा पूरा नभएको: यसभन्दा पहिलेका यस्ता सम्मेलनहरुमा गरिएका वाचाहरु १० करोड डलरको लगानी कोष निमार्ण गर्ने, प्रत्येक जिल्लामा एउटा सामुदायीक कार्यक्रम संचलन गर्ने, एक गाँउ एक उत्पादनलाई सघाउने, भ्रमण वर्ष २०११ मा प्रत्येक एनआरएनले एकजना विदेशी नेपाल पठाउने कुन पनि काम हालसम्म पुरा भएन। अझ भनौं थालनी नै भएन। अहिले त एनआरएनहरुले उक्त कुरा गर्न नै छोडिसकेका छन्।

प्रतिनिधपत्वको प्रश्न: एनआरएनका अगुवाहरुले ३० लाख विदेशीमा रहेका नेपालीहरुको प्रतिनिधीत्व गछौं भने पनि प्रत्येक देशका एनआरएन संघमा सदस्यता लिनेहरु त्यसदेशमा वसोवास गरेका नेपालीहरुको संख्याको ५ प्रतिशत भन्दा पनि कम छ। सदस्यता लिनेहरुको संख्या पछिल्लो समयमा बढ्ने भन्दा घट्दो छ। त्यसो त सबैभन्दा बढि नेपाली बसोवास गर्ने खाडी क्षेत्रका एनआरएनका नेतृत्ववर्ग नै अधिकांश म्यानपावरका संचालक भएकोले उनीहरुले त्यहाँका श्रमीक नेपालीको हकहितको लागि होइन उल्टै उनीहरुलाई उल्टै शोषण गर्ने गरेको समाचारहरु बारम्वार बाहिर आइरहेको छ। गैरआवासीय नेपाली अगुवाहरुको धेरै देशको चुनाव (अमेरिका, वेलायत, फ्रान्स) ‘इलेक्सन’ नभई ‘सेलेक्सन’ हुने कुरा बारम्वार बाहिर आइरहेको छ। अमेरिकामा त यो पदको झगडा अमेरिकी अदालतको ढोका ढक्ढकाउने स्तरसम्म पुगेको छ।

दोहोरो नागरिकता नै किन: करिब १५० वर्षभन्दा पुरानो आप्रवासको इतिहास भएको भारतीयहरुले भारतमा शिप पुँजी लगानी गरेको उदाहरण दिइन्छ तर प्रवासी भारतियलाई परिचयपत्रको मात्रै व्यवस्था भएको भारतमा प्रवासीहरुलाई संवैधानीक र राजनैतिक अधिकारबाट वंचित गरिएको तथ्य एनआरएन अगुवाहरु सुन्न चाहदैनन्। भारतमा प्रवासी भारतीयका छोराछोरीले त्यहाँको मेडिकल कलेजका परिक्षाहरु पनि दिन पाउदैनन्। सबैभन्दा उदेक लाग्दो माग विदेशीले नेपालमा लगानी गर्दा भन्दा नेपाली नागरिकता त्यागेका गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्दा बढि सुविधा लिन पाउनु पर्ने (कर कम तिर्न पाउनु पर्ने) माग गरिएको छ। साच्चै देशको माया लाग्छ भने, उनीहरुले त विदेशीले भन्दा बढि कर तिछौं हामी हाम्रो देशमा लगानी गछौं भनेर भन्न सक्नुपर्ने होइन र ? सबैभन्दा डरलाग्दो पक्ष, यतिवेला नेपालको सरकार सबैभन्दा कमजोर छ त्यसकारण दोहोरो नागरिकताको माग यहिवेला नै पुरा गर्नुपर्छ भन्ने बोलीहरु एनआरएन अगुवाहरुबाट सुनिन्छ। त्यसकारण दोहोरो नागरिकताको माग भित्र आशंका गर्ने प्रसस्त ठाँउ दिएको छ। लगानी सुनिश्चिता त धेरै हदसम्म अहिलेको गैर आवासीय ऐन र नियमावलीले नै गर्दछ। त्यसका भएका अप्ठ्याराहरुलाई समयक्रममा सहज बनाउन सकिन्छ। अब गैर आवासीय अगुवाहरुले कुरा नचपाईकन भन्न सक्न परयो हामीले विदेशी नागरिकता लिए (वाध्यता वा स्वार्थले?) पनि नेपालमा राजनिति पनि गर्न चाहन्छौं। दल खोल्न चाहन्छौं, चुनावमा भाग लिन पनि चाहन्छौं। आफ्नो दल/मान्छे नजिक भएको बखत संवैधानिक नियुक्ति पनि लिन चाहन्छौं।

अन्त्यमा, गैरआवासीय नेपाली आन्दोलनले शुरुवात दिनहरुमा केहि सकारात्मक कामको थालनी गरेतापनि पछिल्ला दिनहरुमा काम भन्दा कुरा ठुला भएकै हुन् भन्न हिचकिचाउने कुनै कारण छैन। गैरआवासीय नेपालीहरुले आफुलाई भाग्यमानी नै मान्नु पर्दछ, गर्व गर्न पनि सक्नुपर्दछ। काम कम ठुला गफै मात्रै गरेपनि एनआरएन भनेपछि राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि उच्च पदस्थ कर्मचारी र ठुला व्यापारीसम्मले रातो कार्पेट ओछएकै छन्। गरिब नेपाली जनताले तिरेको करको पैसा तारे होटलमा कक्टेलयुक्त सम्मेलन गर्न २५ लाख प्रत्येक सम्मेलनको लागि नेपाल सरकारले व्यवस्था गरेकै छ। मिडियाहरुले पनि उनीहरुलाई प्रसस्त स्थान दिएकै छ। सरकारका सबै अंगहरु एनआरएनको स्वागतमा तम्तयार छ तर यति हुँदा हुँदै पनि हामीलाई के ले रोकेको छ ? अहिले त नेतृत्वको लागि एकआपसमा पाखुरा सुर्काएपछि हामीले विदेशमा बसेर नेपालको नेताहरुलाई भ्रष्टाचारी र पदको लागि मरिमेटने भनेर आरोप लगाउने नैतिक सहास पनि अब समाप्त भएन भएको छ । हामीले त यस्तो रमित विदेशका प्राय सबै जसो संघसंस्थामा देखेकै हो। तर टेलिभिजनका नेपाल बस्ने दर्शकले भने होलान – विदेशको सफा र फराकिलो सडकमा गुडेकाहरुको मन कति कलुषित र सानो ?

0 comments:

Post a Comment