Lovlyanup

I kNow juSt a tHinG i. E; i dOn'T kNoW aNyThIng...aLtHouGh EnJoy mY bloGgInG woRlD!!!!!

के तपाईँले कहिल्यै याहु/गुगलले आफ्नो सेवा अपडेट गर्न लागेकोले आफ्नो इमेल आईडी डिलिट हुनबाट जोगाउन आफ्नो युजरनेम र पासवर्ड पठाई अपडेट गरिहाल्नुस् भन्ने व्यहोराको इमेल पाउनुभएको छ ? वा कतै आफ्नो नजिकको साथी/आफन्त काम विशेषले नाइजेरिया आइपुगेको र भएको पैसा सबै चोरी भएकोले स्थानीय कुनै होटलमा अलपत्र परेको खबर आफ्नो इनबक्समा प्राप्त गर्नुभएको छ ? दुवै घटनाले सकंट निम्त्याउन सक्छ। यदि तपाईँले ध्यान नदिई इमेलमा भने जसैगरी रिप्लाई गर्नुभयो भने सम्झनुस् तपाईँ फँस्नुभयो। मैले त्यस्ता कतिपय मान्छेको बारेमा सुनेको/भेटेको छु, जो आफ्नो
गोरु बेचेको पनि साइनो नभएको ब्यक्तिको अपुताली दावी गर्नको लागी प्रोसेसिङ्ग फी वापतको पैसा विदेश पठाएर ठगिएका छन्। हुन पनि गाँस,बास,कपासको लागि संघर्ष गरिरहेको व्यक्तिलाई विदेशको कुनै शहरमा वरपर हरियो बगैँचाले घेरिएको घरको फोटोमा “फलानो (इमेल पाउने ब्यक्तिको नाम) भिला” भनेर फोटो पठाउँदा मन लोभिनु स्वाभाविकै हो। तर त्यसपछिका घटनाक्रम कहिल्यै सुखद हुँदैनन्।
window.google_render_ad();
आफूले कहिल्यै खरिद नगरेको चिठ्ठाको पुरस्कारवापतको पैसा लिने बहानामा होस् वा तपाईँको याहूको इमेल एड्रेसमा माइक्रोसफ्टले आफ्ना इमेल प्रयोगकर्ताहरुको इमेल ठेगानालाई र्‍याण्डमाइज गरी चिठ्ठा गर्दा लाखौँ रकमको पुरस्कार परेको ईमेल हामीलाई दिनहुँ प्राप्त भइरहन्छ। अझ तपाईँको आई.क्यु.लाई च्यालेञ्ज गर्ने गरी प्रश्न सोधेर पठाएको इमेल रिप्लाई गर्ने बित्तिकै तपाईँले सबै पुस्कार जित्‍नुभएकोले कल्पनै नगरेको पुरस्कार राशी जित्‍नुभएको ईमेल आँउछ।
विचार गर्ने हो भने सबभन्दा नराम्रो हविगत त ती ब्यक्तिहरुको हुन्छ, जो अरुको इमेलको पासवर्ड ह्याक गर्नको लागि आफ्नो इमेलबाट आफूले इमेल पठाउँदै गरेको इमेल एड्रेसको युजर नेम र पासवर्ड (यसो गर्नको लागि एक हप्ताभन्दा बढी समयसम्म प्रयोगमा रहेको इमेल एड्रेस हुनुपर्छ भनिन्छ) अपरिचित ब्यक्तिलाई पठाउँछन्। अनि अर्काको ईमेलमा भएका गोप्य कुरा चोरेर हेर्ने सपना देख्छन्।
हाम्रो देशमा अटोमेटेड अनलाइन ट्रान्जेक्सन सुविधा नरहेको हुनाले हुनसक्छ हाम्रो ब्याङ्क स्टेटमेन्ट होस उड्ने गरीको (थाहा नपाई अरुको अकाउण्टमा आफ्नो पैसा ट्रान्सफर भएर) भएको सुनिन पाइँदैन। तर विदेशतिर धेरै बाठो हुने र धेरै सोझो पल्टिनेहरुको कथा, ब्यथा इन्टरनेट सर्च गर्ने हो भने मनग्य पढ्न पाइन्छ। इन्टरनेटको बढ्दो लोकप्रियताको कारणले हामी कहाँ चाहीँ झुक्किने डोमेनको कारणले धेरै व्यक्तिले दुःख पाएको भेटिन्छ।
मेरो अनुभवमा यस प्रकारका स्पाम मेलबाट पूर्ण रुपमा सुरक्षित अलि गार्‍हो छ। किनभने मेल स्पाम गर्नेहरु विकल्पहरु सुझाइरहेका हुन्छन्। उदाहरणको लागि लोकप्रिय इमेल सेवा प्रदायकहरुले (मैले भन्न खोजेको याहु, हटमेल र जीमेल) प्रयोगकर्ताहरुको सुझाव अनुसार कुनै पनि इमेलको सब्जेक्ट लाइन वा वडिलाइनमा भायग्रा भन्ने शब्द छ भने त्यसलाई शंकास्पद सूचिमा राख्‍ने वा सीधै स्पाम घोषणा गर्ने नीति लिए। तर स्पामरहरुले त्यति सजिलै कहाँ छोड्थे र ! उनीहरुले पनि भायग्रा वा त्यससम्बन्धी विज्ञापन गर्नको लागि भायग्रा भन्ने शब्दलाई मात्र फोटोको रुपमा तयार गरे, जसलाई कम्प्युटर प्रोग्रामले पत्तै पाउन सकेन।
हाम्रो तर्फबाट सुरक्षाका केही उपाय अपनाउन सक्छौँ, जसबाट माथि उल्लेख गरिएका र भविष्यमा देखापर्ने विभिन्न साइबर क्राइमबाट सुरक्षित रहन सहयोग पुग्छ। जस्तै
• तपाईँलाई अरु कसैले आफ्नो पासवर्डको अनधिकृत प्रयोग गरेको शंका लाग्ने बित्तिकै पासवर्ड परिवर्तन गर्न सक्ने अवस्थामा रहनु होस्। याहु, हटमेल, जीमेलको पासवर्ड परिवर्तन गर्ने प्रक्रिया अलग-अलग हुन सक्छ। गुगलमा सर्च गरेर वा जान्ने मानिसलाई सोधेर कम्तिमा आफ्नो पासवर्ड आफैँ परिवर्तन गर्न सक्ने अवस्थामा रहनुहोस्।
• तपाईको पासवर्ड अंक र अक्षर दुबै मिलेर बनेको भए राम्रो हुन्छ। डिक्सनरीको कुनै शब्दलाई पासवर्डको रुपमा प्रयोग नगर्नु राम्रो। त्यसो भए कुनै पनि ह्याकिङ्ग सफ्टवेयरबाट पासवर्ड क्र्याक हुन सार्‍हो पर्छ। अझ तपाईँलाई नेपाली टाइप गर्न आउँछ भने सम्झिन सजिलो हुने शब्दलाई पासवर्डको रुपमा प्रयोग गरे राम्रो हुन्छ। (भन्नाले यदि तपाईँ बकमानलाई पासवर्ड बनाउन चाहनु हुन्छ भने asdfg लेख्‍नुहोस्)
• निश्चित समयावधिमा आफ्नो इमेल पासवर्ड परिवर्तन गरिरहनुहोस्।
• यदि तपाईँको कम्प्युटर अरुले पनि चलाउँछन् भने लगइन पेजमा पासवर्ड कहिल्यै सेभ नगर्नुहोस्। प्रायजसो इमेल लगइन गर्दा चेक बक्समा पासवर्ड सेभ गर्ने अप्सन हुन्छ। हामीले जानेर वा अन्जानमा त्यसलाई सेभ गरिरहेका हुनसक्छौँ।
• ब्यक्ति आफ्नो हुनसक्छ तर उसको बानी ब्यवहार आफ्नो नहुन सक्छ। त्यसैले भरसक आफ्नो पासवर्ड आफैसँग राख्‍नुहोस्।
• पहिलो प्रेमी/प्रेमिका पछि गएर पासवर्ड हुन्छन् भन्ने चलनचल्तीको जोक जस्तो तपाईँको कमजोरी वा तपाईँको स्वाभावको आधारमा अनुमान गर्न सकिने वा छोराछोरीको नाम वा जन्ममितिलाई पासवर्ड नबनाउनु भए राम्रो हुन्छ। यसो गर्नु हुँदा तपाईँका आफ्ना भनिएका कुनै नजिकका ब्यक्तिबाट अप्ठ्यारोमा पर्न सक्नु हुन्छ।
• पासवर्ड बिर्सिएमा प्रयोग हुने प्रश्नलाई पनि सामान्य नबनाउनुस्। नत्र कुनै पनि जानकार व्यक्तिले तपाईँको इमेल ह्याक गरी हेर्न सक्छन्। उदाहरणका लागि तपाईँको स्कूलको नाम के हो ? तपाईँको जन्म शहर कुन हो ? जस्ता प्रश्नका उत्तर सजिलै अनुमान गर्न सकिने हुन्छन्। यस्तो जवाफ दिएर तपाईँको ईमेलमा कसैले अनधिकृत प्रवेश गर्न सक्छन्। तपाईँको फेभरेट मुभी कुन हो ? भन्ने प्रश्नको जवाफ पनि त्यसरी नै अनुमान गर्न सकिने खालको नराख्‍नु राम्रो हुन्छ। बरु त्यस्ता प्रश्न सकभर आफैले राखे राम्रो हुन्छ र त्यसको जवाफ पनि अरुले अनुमान गर्न नसक्ने राख्‍नुस्। उदाहरणका लागि नेपालको राजधानी कुन हो भनेर प्रश्न राख्‍ने र त्यसको जवाफ काठमाडौँ नराख्‍ने बरु टोकियो भनेर राख्‍ने। यसो भएमा कसैले पनि अनुमान गर्न सक्दैनन्। बरु त्यो जवाफ तपाईँलाई याद हुनुपर्छ नि। नत्र कहिलेकाहीँ पासवर्ड बिर्सँदा तपाईँ आफैलाई रिकभर गर्न गार्‍हो हुनसक्छ।
पासवर्ड चोरीबाट बच्ने यी त केही उदाहरण भए। तपाईँसँग पनि यसो केही जानकारी भए बाँडौँ न !

0 comments:

Post a Comment